महन्थ ठाकुरले गरे १३ हजार ‘टिकट’मा हस्ताक्षर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवार तय गर्न १३ हजार टिकटमा हस्ताक्षर गरिसकेका छन् ।

लोसपाले आजबाट उम्मेदवारलाई टिकट वितरण सुरु गर्ने भएको छ । उम्मेदवारको बारेमा टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी छ । बिहीबार बसेको कार्यकारिणी समितिको बैठकमा देशभर लोसपाको चुनावी अवस्थाका बारेमा ब्रिफिङ भएको थियो ।

जिल्लामा जिम्मेवारी लिएर खटिएका कार्यकारिणी सदस्यहरुले आआफ्नो ब्रिफिङ सुनाएको कार्यकारिणी सदस्य अकवाल मियाँले बताए ।बैठकमा अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार चयन प्रकृया, चुनावी गठबन्धन लगायतको बारेमा आफ्नो धारणा राखेका थिए । यसअघि नै चुनावी गठबन्धनका लागि स्थानीय तहलाई जिम्मेवारी दिइसकेको छ । आवश्यकताअनुसार जुनसुकै दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय सो पार्टीले यसअघि नै गरिसकेको छ ।

लोसपामा देशभरबाट सिफारिस भएका उम्मेदवार अनुसार अध्यक्ष ठाकुरले हालसम्म १३ हजार मनोनयपत्र (टिकट) मा हस्ताक्षर गरिसकेका छन् । जिल्लाबाट अझै सिफारिस आउने क्रम जारी रहेको जनाइएको छ । सर्वसम्मत रुपमा सिफारिस भएर आएकाको हकमा शुक्रबारबाट टिकट वितरण सुरु गरिने नेता मियाँले बताए