जलवायु परिवर्तनको असर : सन् २०३० सम्म लु तीनगुणा बढ्न सक्ने !

जलवायु परिवर्तनका कारण पृथ्वीमा अनेकौं समस्या आइरहेका छन् । संयुक्त राष्ट्र संघले जलवायुमा भइरहेको तीव्र परिवर्तनका कारण सन् २०३० सम्ममा वार्षिक ५६० विपद्का घटना झेल्नुपर्ने बताएको छ । राष्ट्र संघका अनुसार सन् २०१५ देखियता पृथ्वीले वार्षिक ४०० विपद्को सामना गरिरहेको छ ।

संयुक्त राष्ट्र संघको डिजास्टर रिस्क रिडक्सनको प्रतिवेदन अनुसार सन् १९७० बाट २००० को मध्यसम्म विपद्को संख्या ९०–१०० रहेको उल्लेख छ ।

२०३० सम्ममा लु र सुख्खापन झेल्नुपर्ने

सन् २००१ को तुलनामा २०३० सम्ममा तातो हावा लु तीन गुणासम्म बढ्ने संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै सुख्खापन ३० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ । भारतमा मार्च महिनाको गर्मी १२१ वर्षयताकै सबैभन्दा बढी छ ।

जलवायु परिवर्तनका कारण प्राकृतिक विपद् मात्रै नभई कोरोना महामारी, आर्थिक संकट र खाद्यान्नमा समेत कमी आउने अध्ययनले बताएको छ ।

संयुक्त राष्ट्र संघ डिजास्टर रिस्क रिडक्सनकी प्रमुख मामी मिजुटोरीका अनुसार प्राकृतिक विपद्का कारण झेल्नुपरेको समस्या सर्वसाधारणले आँकलन नगरेको बताएकी छन् । ‘यदि हामीले अहिले एक्सन लिएनौं भने नोक्सानको भरपाई गर्न निकै कठिन हुनेछ । यो एक दुष्चक्र हो,’ उनले भनेकी छन् ।

गरीब देशको अवस्था झन् खराब हुने

अनुसन्धानमा सहभागी हार्वड ह्युम्यानिटिरियन इनिसिएटिभका मार्कस इनेकनेलले भविष्यमा आउने विपद्ले गरीब देशको अवस्था झन् खराब हुने बताएका छन् । आवश्यकता पूरा गर्न उनीहरुसँग स्रोत साधनको अभाव हुदाँ आर्थिक संकट समेत चुलिने उनको तर्क छ ।

नेशनल ओसेएनिक एण्ड एटमोस्फेरिक एड्मिनिस्ट्रेसनका वैज्ञानिक रोजर पुलवर्टीले बिमारीका कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, जंगलमा आगो लाग्दा तातो हावा बहनु, रुस–युक्रेनबीच लडाईंका कारण इन्धनको अभाव हुनु पनि विपद् नै भएको बताएका छन् । यसले धेरै देशको अवस्था खराब हुने उनले टिप्पणी गरेका छन् ।

सतर्कता अपनाउनु नै एक मात्र उपाय

केही वर्षयता विपद्का कारण ज्यान गुमाउनेको संख्यामा गिरावट आएको देखिएपनि पछिल्लो पाँच वर्ष उक्त आँकडा बढ्दै गएको पुलवर्टीको भनाइ छ । यसको पछाडि कोरोना महामारी मुख्य छ ।

कोरोना भाइरसको महामारी तथा भूकम्पजस्ता ठूला विपद्बाट बच्न योजना बनाएर काम गर्नुपर्ने उनी बताउँछन् ।

‘समाजले सोच्ने तरिका नबदल्ने र भविष्यमा आउन सक्ने विपद्बाट बच्नका लागि योजना बनाएर अघि नबढ्ने हो भने यसबाट आउनसक्ने जोखिमलाई रोक्न सकिने छैन । विपद्बाट हुने मृत्युलाई रोक्न सकिने छैन,’ पुलवर्टीले भनेका छन् ।