उम्मेदवारको सवारी पास अब निर्वाचन अधिकृतकै कार्यालयबाट

२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिहरुले सम्बन्धित स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयबाटै सवारी पास लिने व्यवस्था मिलाइएको छ ।

यसअघि सम्बन्धित स्थानीय तह निर्वाचन अधिकृतको कार्यालयको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पत्र जारी गर्ने कार्यविधि थियो ।

त्यसलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहको निर्वाचन अधिकृतकै कार्यालयबाट सोझै सवारी पास लिने व्यवस्था मिलाइएको हो । जिल्ला प्रशासन कार्यालयबाट पहिले नै सवारी पास लिइसकेकाहरुको हकमा सोही पास मान्य हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

सोही व्यवस्था अनुसार सवारी पास लिन जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गरेका छन् ।