भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरु बढे, कोटेश्वर र माछापोखरीमा भीड

२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ ।

ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ । तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको छ ।

कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् । ‘कोटेश्वर, जडिबुटी क्षेत्र र माछापोखरी क्षेत्रको सडक केही साँघुरो भएको र घर फर्किन चाहनेहरूको भीड सडकमै आइदिनाले ट्राफिक व्यवस्थापनमा सामान्य समस्या देखिएको छ,’ ट्राफिक प्रहरी कार्यालयका एक अधिकारीले  बताएका छन् ।

मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उपत्यका छाडेर घर फर्किएको उनीहरुले बताएका छन् ।

ट्राफिक प्रहरीका अनुसार कोटेश्वर जडिबुटी हुँदै बाहिरिने सवारी साधन र नयाँ बसपार्क क्षेत्रबाट बाहिरिने सवारी साधनहरु क्यूमा चलिरहेका छन् । काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रु र सवारी साधनहरुको संख्या बढी भएका कारण ती स्थानमा क्यू रहेको हो ।