मादक पदार्थ सेवन गरी मतदान गर्न जान नपाइने

मादक पदार्थ सेवन गरी मतदान गर्न जान नपाइने भयको  छ। निर्वाचन आयोग ले विज्ञप्ति  जारि गर्दै भनेको छ  ‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु हुँदैन।’

स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको स्मरण गराउँदै आयोगले त्यस्तो भनेको हो।

मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको जनाएको छ।

त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने पनि आयोगले जनाएको छ।

‘उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानून बमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग हार्दिक अपिल गर्दछ’ आयोगले भनेको छ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनीको प्रमाणपूर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिने ब्यवस्था भएको आयोगले जनाएको छ।

मतदान अधिकृतले अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरेपछि मतदान गर्न पाउने ब्यवस्था मिलाइएको हो।