काठमाडौं, साउन २३ गते । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहोर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ ।
पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहोर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहोर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ ।
उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहोरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहोरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ ।
योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहोर बञ्चरेडाँडा पु-याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यकाबाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उहाँले बताउनुभयो । फोहोर व्यवस्थापनको सहजताकै लागि कामपाले यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहोरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ । फोहोरमैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहोरको वर्गीकरणको प्रबन्ध गरिएको छ ।
निजी फोहर सङ्कलकलाई कानुनी दायरामा ल्याइँदै
काठमाडौँको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । फोहाेर वर्गीकरण योजना भने ३२ सैँ वडामा लागू गरिएको छ ।
कामपाले मात्रै फोहोर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहोर व्यवस्थापन भइरहेको छ निजीले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहोर व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहोर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहोर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ । जिम्मा लिएको स्थानमा फोहर व्यवस्थापनको काम नगरे कानुनी कारबाही गर्ने स्थानीय तहको चेतावनी छ ।
ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले जुन स्थानमा फोहोर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने जनाउँदै यसका लागि सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो । फोहोर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुर्नेमा उहाँको भनाइ छ ।
फोहोरमैला व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सह लगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विपद्पछिको उत्पन्न हुने फोहोरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ ।
त्यसैगरी, विद्यमान सङ्घीय संरचनाअनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित सङ्घीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको सुझाव छ ।
अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, सङ्कलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्यजिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँका अनुसार फोहोरको वर्गीकरण पनि विभिन्न प्रकार सिसाजन्य, प्लास्टिकजन्य, कुहिने फोहोर, फलामजन्य र अस्पतालबाट निस्कने फोहोर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ ।
आगामी दिनमा फोहोरर व्यवस्थापनको लागि स्थान पहिचान गर्दा घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहोरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहोरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्नेजस्ता विषयमा अन्य स्थानीय तहको प्रमुखको पनि जोड छ ।
वैकल्पिक बाटोको खोजी
हरेक वर्ष वर्षा सुरु भएसँगै बाटोकै कारण उपत्यकाको फोहोर व्यवस्थापन गर्न कठिन भएको भन्दै वैकल्पिक बाटोको खोजी गर्ने काम अघि बढाइएको छ । हाल फोहाेर व्यस्थापन भइरहेको स्थान बञ्चरेडाँडासम्म फोहोर व्यवस्थापन गर्नका लागि कामपासहित अन्य १७ वटा स्थानीय तहको पनि सहकार्यमा काम अघि बढेको हो ।
मुड्खुखोलादेखि बञ्चरेडाँडासम्म कै बाटोमा पटक पटक समस्या आएकाले हप्तौसम्म उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या अएको हुँदा आगामी दिनमा त्यस्ता समस्या नआअाेस् भनेर विकल्पको तीव्र खोजी गरिएको हो । मुड्खुखोलादेखिकै अर्को गोरेटो बाटोलाई विस्तार गरेर पक्की बाटो बनाउने काम केही दिनमा नै सुरु गरिने भएको छ । यसको लागि कामपामा चालु आर्थिक वर्षमा रु. २० करोड बजेट विनियोजन गरेको छ ।