कोभिडविरुद्ध खोप नलगाएका ७६ प्रतिशत : दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा जाने सम्भावना  

काठमाडौं- गत फागुन २७ गतेदेखि शून्यमा झरेको कोभिड मृत्युदर पुनः बढ्न थालेको छ। असार १ गतेबाट सुरु हुन थालेको मृत्युको शिलशिला रोकिएको छैन। कोरोना संक्रमणका कारण दैनिक एक या दुई जनाले ज्यान गुमाइ रहेको तथ्यांकले देखाएको छ। तेस्रो लहरमा भएको मृत्यु पश्चात चार महिनापछि असार १ गते पहिलो संक्रमितको मृत्यु भयो।

मृत्यु भएकाको कारण विश्लेषण गर्दा अधिकांश खोप नलगाएका र दीर्घ रोगीहरु रहेको पाइएको छ। साउन १ देखि हालसम्म १९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए।

साउन १९ गतेसम्म मृत्यु भएकाको तथ्यांकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्लेषण गरेको छ। जसमा ७६ प्रतिशत अर्थात् मृत्यु भएका १७ जनामध्ये खोप लगाएकाको संख्या चार मात्र थियो। बाँकी १३ जनाले खोप लगाएका थिएनन्।

मृतक व्यक्तिले खोप नलगाएका मात्र होइन उनीहरुमा एकभन्दा बढी दीर्घ रोगहरु पनि थिए। १७ मध्ये १२ जना मृत्यु भएको व्यक्तिहरुमा एक वा एकभन्दा बढी दीर्घ रोगहरु रहेको पाइएको थियो।

मृतक एक जना बाहेक अन्य सबैको उमेर थियो, ४९ वर्षभन्दा माथि।

नेपालमा हालसम्म ११ हजार ९७१ जना जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। जसमध्ये सबैभन्दा धेरै ६० देखि ६९ वर्ष उमेर समूहका छन्।

६० देखि ६९ वर्षका २ हजार ५०८, ७०–७९ वर्षका २ हजार ३८९, ५०–५९ का २ हजार ३०३, ४०–४९ का १ हजार ६६५, ८० वर्ष माथिका १ हजार ६३९, ३०–३९ वर्षका ९६५, २०–२९ वर्षका ३८१, १०–१९ वर्षका ५७, ९ वर्ष मुनिका ५१ र अज्ञात १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

स्वास्थ्य मन्त्रालयको यो विश्लेषणले पनि कोभिड खोप नलगाएका र दीर्घ रोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको पुष्टि गर्छ। हुन त विज्ञहरुले खोप नलगाएका र दीर्घ रोगीहरु कोरोनाको उच्च जोखिममा हुने गरेको बताउँदै आएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा खगेश्वर गेलालले खोप नलगाएका व्यक्तिहरुमा मृत्युदर बढी देखिएको बताए। खोप नलगाएका र दीर्घ रोगीहरु कोरोनाको उच्च जोखिममा भएकाले खोप लगाउन उनको सुझाव छ।

नेपालमा हालसम्म पूर्ण खोप लगाउनेको संख्या ७० दशमलव ७ प्रतिशत अर्थात् २ करोड ६२ लाख ६ हजार ४९४ पुगेको छ। बाँकी ३० प्रतिशतले अझै पनि कोरोना पूर्ण खोप लगाउन बाँकी छ। डा गेलालका अनुसार ७५ प्रतिशतले अझै कोभिड १९ को बुस्टर डोज लगाएका छैनन्।

घट्दो परीक्षण बढ्दो सक्रिय संक्रमित
साउन १ गते उकालो लाग्न थालेको कोरोनाको ग्राफ झन् माथि जाँदैछ। दैनिक भेटिने संक्रमितसँगै सक्रिय संक्रमितको संख्या बढ्दो छ। साउन १४ गतेसम्म पाँच सय आसपासमा घुमिरहेको संक्रमितको संख्या हाल एक हजार नजिक पुग्ने गरेको छ। कोरोना संक्रमणदर पनि करिब १५ प्रतिशत छ।

संक्रमितको संख्या दैनिक बढीरहेपनि परीक्षणको दर भने बढ्न सकेको छैन। तथ्यांकमा देखिएका संक्रमितको यी संख्याहरु स्वतः परीक्षण गर्न आउनेहरुको मात्र हुन्। इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख डा गेलाल कोभिड १९ को परीक्षण अपेक्षा गरे अनुसारको नभएको स्वीकार्छन्।

भन्छन्, ‘जनसमुदाय स्तरमा जनस्वास्थ्यका मापदण्डको पालना घट्दो छ। तर कोरोना संक्रमण अहिले बढीरहेको छ। मानिसहरु स्वतः परीक्षण गर्न आउनेहरुमा देखिएको संक्रमण हो यो। अझै पनि कोभिड १९ को परीक्षण अपेक्षा अनुसार हुन सकेको छैन।’

अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको दुई हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्ने अनुमान गरेको छ। मन्त्रालयका प्रवक्ता डा समीर कुमार अधिकारीले अब दुई हप्तामा कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने बताए।
‘अबको दुई हप्ता कोरोना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपछि घट्दै जाने हाम्रो अनुमान हो,’ प्रवक्ता अधिकारीले भने।

कोरोना संक्रमणको अवस्थालाई नजिकबाट नियालिरहेका भाइरोलोजिस्ट डा सन्तोष दुलाल पनि अबको दुई/तीन हप्तामा कोरोना संक्रमण उत्कर्षमा पुग्ने बताउँछन्। संक्रमणको अवस्था हाल मध्यम अवस्थामा भएपनि अबको दुई/तीन हप्ता चुनौतीपूर्ण हुन सक्ने उनको अनुमान छ। यो अवधिमा खोप नलगाएका, दीर्घ रोगी, रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरु बढी सर्तक हुन आवश्यक रहेको उनले बताए।

उनले भने, ‘पहिले र भारतको अवस्था हेर्दा अबको दुई/तीन हप्ता चुनौतीपूर्ण हुन सक्छ। संक्रमणको अवस्था उत्कर्षमा पुग्न सक्छ। तर त्यसपछि भने संक्रमण विस्तारै घट्न सक्छ। धेरै व्यक्तिहरु परीक्षण जाँदैनन्। घरभित्रै बसेका छन्।’

नजिकिदो चाडपर्वले पनि कोरोना संक्रमणको जोखिम बढाउन सक्ने उनले बताए। चाडपर्वमा सामाजिक दूरी कायम नहुने, भीडभाड हुने भएकाले संक्रमण फैलिने संभावना बढेर जाने उनले बताए।

खोपले घटाउँछ जोखिम
खोप नलगाएका व्यक्तिहरुमा मृत्यु हुने संभावना बढी देखिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओ नेपालका मेडिकल अफिसर डा विनोद बुराले बताए। हालसम्म डब्लुएचओले कोभिड १९ विरुद्ध ११ वटा खोपलाई स्वीकृति दिएको र सबै सुरक्षित रहेको बताए।

उनले भने, ‘यी सबै खोपहरु सुरक्षित छन्। त्यसैले ढुक्क भएर आउन आग्रह गर्छौ। उपलब्धताको आधारमा बुस्टर डोजको पहुँच बढाउन पनि आवश्यक छ।’

कोभिड-१९ विरुद्ध खोपको पहिलो डोज लगाएपछि गम्भीर रोग र मृत्युबाट ६५ प्रतिशतभन्दा बढी र बुस्टर डोजपछि ८५ प्रतिशतभन्दा बढी सुरक्षा दिने डा बुराले बताए। तर ६ महिनापछि भने खोपको प्रभावकारी घट्दै जाने उनले बताए। यो सँगै गम्भीर खालको बिरामी हुनबाट बचाउनुका साथै अस्पताल भर्ना हुने र मृत्यु हुने संभावना घटाउने उनले जानकारी दिए।

नेपालमा अहिले पनि ओमिक्रोन भेरियन्ट नै बढी देखिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका नेशनल प्रोफेसनल अफिसर एन्टीमाइक्रोयिबल रेसिस्टेन्स एण्ड ल्याब्रोटोरीकी डा पल्पसा तुलाधर कंसाकारले बताइन्। हालसम्म नेपालमा पाँच हजारभन्दा बढी जीन सिक्वेन्सिङ भइसकेको उनले बताइन्। जुन तारिखमा बीएफाइभ भेरियन्ट देखिएपनि हाल बीएटु देखिन थालेको उनले जानकारी दिइन्।