बञ्चरेडाँडामा फोहोर फाल्न गएको गाडीमाथि तोडफोड

बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी तोडफोड भएको छ।

सोमबार राति बञ्चरेडाँडामा राखिएको फोहोरको गाडी र डोजर केही व्यक्तिले तोडफोड गरेको काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।

उनका अनुसार सिसडोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा राखिएको फोहोरको गाडी तोडफोड भएको हो। जम्मा १७ वटा गाडी तोडफोड भएको प्रहरी नायब उपरीक्षक भट्टले बताए।

१४ वटा फोहोरको टिपर, दुइटा डोजर र एउटा स्काभेटर तोडफोड भएको छ,’ भट्टले भने, ‘हिजो फोहोर विसर्जन गर्न गाडीहरू सिसडोल पुगेको थियो। फोहोर फाल्न पुगेको गाडीहरूलाई बञ्चरेडाँडामा फोहोर फाल्न नदिन स्थानीयहरूले अवरोध गरेका थिए।’

स्थानीयको अवरोधका बाबजुद सुरक्षाकर्मीको सहायतामा केही गाडीका फोहोर फालिएको भट्टले बताए। अवरोधकै कारण केही गाडीको फोहोर भने खसाल्न बाँकी थियो। ती गाडी भने बीच बाटोमा रोकेर राखिएको थियो। सोमबार राति पानी परेको समयमा कुनै समूहले सोही गाडीहरू तोडफोड गरेको भट्टको भनाइ छ।

तोडफोड भएका सवारी साधन फोहोर मैला व्यवस्थापन गर्ने कम्पनी र निजी क्षेत्रका हुन्। त्यस्तै, स्काभेटर र डोजर महानगरपालिकाको स्वामित्वमा भएको भट्टले जानकारी दिए।

आन्दोलनरत संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले तोडफोड गरेको कुरा आफूहरूले पनि सुनेको जानकारी दिए।

‘तोडफोड भएको भन्ने कुरा सुन्नमा आएको हो,’ ढुंगानाले भने, ‘हामीले गरेका होइनौं। त्यसैले त्यसको जवाफदेही र जिम्मेवार हामीहरू छैनौं।’

ढुंगानाले आफूहरूले तोडफोड गर्नेजस्ता काम नगर्ने बताए। राति गरेको भनेर सुनेको तर गरेको हो वा होइन आफूलाई थाहा नभएको उनले जिकिर गरे।

यस्तै, ढुंगानाले सिसडोल-बञ्चरे डाँडामा भदौ १ गतेदखि फोहोर फाल्न नदिन शान्ति रूपमा बन्द गर्ने बताए।

‘भदौ १ गतेदखि फोहोर फाल्न नदिन सिसडोल-बञ्चरेडाँडा शान्ति रूपमा बन्द गर्ने छौं,’ उनले भने, ‘तर त्योभन्दा अगाडि वार्ता गर्न कोसिस गरिरहेका छौं। हाम्रो कुनै पनि किसिमको तोडफोड गर्ने क्षति पुर्‍याउने इच्छा, चाहना केही छैन।’

सिसडोल र बञ्चरेडाँडाका स्थानीय बासिन्दाले डेढ महिनाअघि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै भदौ १ देखि काठमाडौं उपत्यकाको फोहोरमैला फाल्न नदिने घोषणा गरेका थिए।

जेठ २७ गते भएको सम्झौता कार्यान्वयन गर्न सरकार र काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेकाले यस्तो निर्णय गर्नुपरेको ढुंगानाले बताएका थिए।

यस्तै ढुंगानाले सरकारले पटकपटक सिसडोल र बञ्चरेडाँडाका बासिन्दालाई धोका दिँदै आएकाले आफूहरू नयाँ चरणको आन्दोलन सुरू गर्न बाध्य भएको बताएका छन्।