भन्सार छली ल्याइएको १० लाखको सामानसहित एक जना पक्राउ

धनुषा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएको १० लाख भन्दा बढीको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको विभिन्न स्थानबाट १० लाख १५ हजार १ सय ७५ रुपैयाँ बराबरको सामानसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्लाको विदेह नगरपालिका २ दुहबी चोकमा भारतबाट अवैध रुपमा भन्सार छली गरी मोटरसाइकलमा ल्याइएका अन्दाजी ५० हजार ४ सय ५० रुपैयाँ बराबरको चिनी बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका ३ जनक चोकबाट मोटरसाइकलमा ल्याइएको करिब ६ लाख ४६ हजार बराबरको लत्ताकपडा बेवारिसे अवस्थामा बरामद गरेकोको छ भने औरही गाउँपालिका २ देउरी चोकबाट अटोमा ल्याउँदै गरेको अटोसहित ३ लाख १८ हजार ७ सय २५ बराबरका लत्ताकपडासहित धनुषाको नगराइन नगरपालिका ९ का वर्ष ३७ वर्षीय जितेन्द्र पासवानलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेका पासवानसहित सामान जनकपुरधाममा रहेको भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।