गृहमन्त्री बालकृष्ण खाणले काठमाडौं महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र रहेको वान वर्ल्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् ।
थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) रबिन्द्रबहादुर धानुक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौंका जिल्लाका सुरक्षा प्रमुखहरूलाई आगलागी नियन्त्रण यथाशक्य गर्न निर्देशन दिएका हुन् ।
काठमाडौंका प्रजिअ रिजालले विद्युत सट भएर आगलागी भएको र अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । एआईजीपी धानुकले गृहमन्त्रीले आगलागी नियन्त्रण थप शक्ति र साधन प्रयोग गर्न निर्देशन दिएको बताए ।