भारी वर्षाका कारण खोला किनारका बस्ती डुबानमा

काठमाडौंमा गएरातिको भारी वर्षाका कारण ठाउँ-ठाउँ डुबानमा परेका छन् ।वर्षा र बाढीका कारणले खोला किनारका बासिन्दाहरु प्रभावित बनेका हुन् ।विष्ट गाउँका एक तल्लासम्मका घरहरू डुबानमा परेका छन् ।

त्यस्तै, भक्तपुर काँडाघारी प्रहरी कार्यालय भवनको भुइँ तला पनि डुबेको छ । मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित प्रहरीले जनाएको छ ।

त्यस्तै, हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका १५ मानिसहरुको उद्धार भएको र अन्यको जारी रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, सुकुम्बासी टोलका केही टहरा पनि बाढीले भत्काएको बताइएको छ ।

गएराति काठमाडौंमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताका लागि सूचना जारी गरेको थियो । बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन भनेको थियो ।

यसैगरी ललितपुरको बाग्मती खोकना केन्द्रमा पनि जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो ।