बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन पम्पहरुलाई आग्रह

शुक्रबार र शनिबार दुई दिनको सार्वजनिक बिदामा इन्धनको बिक्री प्रभावित हुन नदिन आयल निगमको थानकोट डिपोले पेट्रोल पम्पहरुलाई आग्रह गरेको छ ।

बिहीबार बागमती पेट्रोलियम डिलर्स एसोसिएसन र काभ्रे पेटोलियम डिलर्स एसोसिएसनलाई पत्राचार गर्दै डिपो प्रमुख सैलेन्द्र भुसालले आफ्नो पूर्ण क्षमताअनुसार तेल भर्न र बिक्री वितरण नियमित राख्न आग्रह गरेका हुन् ।

यो साता शुक्रबार जनैपूर्णिमाका कारण दुई दिन लगातर सार्वजनिक बिदा परेको छ । दुई दिन डिपोबाट इन्धन वितरण नहुँदा बजारमा अभाव सृजना नहोस भन्न पम्पहरुलाई सचेत गराइएको डिपोको भनाइ छ । बिहीबार पछि एकैचोटी आइतबार निगमको डिपो खुल्नेछ ।