अरिंगालले टोक्दा घाइते युवकको मृत्यु

तनहुँमा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका-५ छाङपाटनका ३१ वर्षीय टोप बहादुर कुमालको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार छाङपाटनस्थित सेती नदी किनारमा सिसौको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।

उनको तत्काल भिमादस्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखराको गण्डकी अस्पताल पठाइएको थियो ।

तर उपचारका क्रममा शनिबार विहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।