चालु आर्थिक वर्षको पहिलो महिनामा नै भेटिएन राजस्व संकलनको लक्ष्य

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा राजस्व संकलन उत्साहजनक देखिएको छैन । यस महिना लक्ष्यको ९० प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

आन्तरिक राजस्व विभागले चालु आवको पहिलो महिना साउनमा ३९ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । विभागको यस अवधिमा ३९ अर्ब ७६ करोड ९५ लाख ९१ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । जुन लक्ष्यको ९०.६० प्रतिशत मात्रै हो । विभागले यस अवधिमा ४३ अर्ब ८९ करोड ४९ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

यस अवधिमा विभागले आयकर शीर्षकबाट १५ अर्ब २२ करोड ४२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको १३ अर्ब ८ करोड २ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यस्तै, घरबहाल कर शीर्षकबाट ४० करोड ५३ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २५ करोड ५१ लाख ४३ हजार रुपैयाँ, ब्याजबाट ७ अर्ब ७१ करोड ६१ लाख ७७ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ६ अर्ब २५ करोड ९७ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

विभागले यस अवधिमा भ्याटबाट १२ अर्ब २१ करोड १४ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसबाट ११ अर्ब १४ करोड ६५ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अन्तशुल्क शीर्षकबाट ७ अर्ब ८८ करोड ८८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८ अर्ब १ करोड ५१ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको तथ्याङकमा उल्लेख छ । जुन लक्ष्यको १०१.६० प्रतिशत बढि राजस्व संकलन भएको छ ।

यसैगरी विभागले स्वास्थ्य सेवा शीर्षकबाट लक्ष्यको झण्डै तीन गुणा बढि राजस्व संकलन गरेको छ । यस अवधिमा विभागले २७ करोड ८९ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसबाट ८५ करोड ९३ लाख ९८ हजार रुपैयाँ रावस्व संकलन गरेको छ । जुन लक्ष्य अनुसार ३०८.१२ प्रतिशत राजस्व संकलन भएको हो ।

विभागका अनुसार यसअवधिमा शिक्षा शीर्षक बाट १६ करोड ९९ लाख ८१ रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । विभागले यस अवधिमा शिक्षा शीर्षकबाट १५ करोड ३३ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ९०.१९ प्रतिशत राजस्व संकलन भएको हो ।