माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी घोषणाका साथै अरु महत्वपूर्ण निर्णय गर्ने नेताहरुले बताएका छन् ।

शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।

महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव पेस गरेका थिए ।