पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउन जोड

ललितपुर, १२ भदौ ।  ललितपुर महानगरपालिकाका महिला जनप्रतिनिधिहरुले महिला स्वास्थ्य र वातावरण स्वास्थ्यलाई ध्यानमा राखेर पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउनुपर्नेमा जोड दिएका छन् । एक्सपोज नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने जनप्रतिनिधिले केमिकलयुक्त प्याडको सट्टा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रयोग गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका हुन्  ।

कार्यक्रममा सम्बोधन गर्दै महानगरकी उपप्रमुख मञ्जिला शाक्य बज्राचार्यले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने उद्योग को प्रवर्द्धन गरी त्यसको प्रयोग बढाउनुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले यस्तो प्याड बनाउने तालिम प्रदान गरी महानगरभित्रै उत्पादन बढाइ देशबाहिरबाट हुने केमिकलयुक्त प्याडको आयात रोक्न सकिने बताउनुभयो । उहाँले यसका लागि ललितपुर महानगरपालिकाले योजना नै बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिनावारी स्वास्थ्य र पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याडको उत्पादनमा काम गरिरहेको एक्सपोज नेपालसँग महानगरले सहकार्य गर्ने उहाँको भनाइ थियो ।

एक्सपोज नेपालका अध्यक्ष ज्ञान मर्हजनले महिलाहरुको स्वास्थ्य र आर्थिक पाटोलाईसमेत ध्यानमा राखेर महिलाहरुलाई सजिलो प्याड बनाउने तालिम प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो । उहाँले सुति, फ्लाटिनका कपडाबाट स्वस्थकर लिकेज नहुने र टिकाउ, कम खर्चिलो प्याड बनाउन सकिने तथा कपडा र त्यसमा प्रयोग भएका सामग्रीको गुणस्तर मापन गरेर मात्र प्रयोगका लागि बजारमा पठाउने गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै महिला वडा सदस्यहरुले वडा वडामा यस्तो तालिम सञ्चालन गरी घरघरमै प्याड उत्पादन गरेर विदेशबाट आयात हुने प्याड विस्थापन गर्नुपर्ने बताए । उनीहरुले स्थानीय तहले बजेट विनियोजन गरेर नै यसकिसिमका तालिम सञ्चालन गर्नुपर्ने र पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोग बढाउनुपर्ने बताए । वडामा स्वस्थ र स्वस्थ महिनावारीका लागि आफूहरुले भूमिका निर्वाह गर्ने उनीहरुको प्रतिबद्धता थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरु सानु अवाले, लक्ष्मी शर्मा दाहाल, संगीता अछामी, अलिसा डंगोल, अन्जना कार्की, सरस्वती जोशी, यमुना श्रीसलगायतले बोल्नुभएको थियो । स्वस्थ र स्वस्थ महिनावारी तपाईं हाम्रो रखवारी विषयक अन्तरक्रियामा ललितपुर महानगरका २९ वटै वडाका महिना जनप्रतिनिधिको सहभागिता रहेको थियो ।