रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन

रुसले युक्रेनमा जारी ‘विशेष सैन्य अभियान’का लागि ३ लाख रिजर्भ फोर्स परिचालन गर्ने घोषणा गरेकै दिन त्यस अभियानमा मारिएको आफ्नो सेनाको संख्या पनि उजागर गरेको छ। युद्ध सुरु भएको एक महिनापछि मार्च २५ मा रुसले आफ्ना १३५१ सैनिक मारिएको बताएको थियो ।त्यसपछि रुसी सेनाको हताहतीबारे पश्चिमबाट विभिन्न अनुमान आइरहँदा पनि रुसले विवरण सार्वजनिक गरेको थिएन । अगस्टमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेन युद्धमा रुसी पक्षका करिब ७० देखि ८० हजार सैनिक मारिएको वा घाइते भएको प्रक्षेपण गरेको थियो । तर हाल रुसले सार्वजनिक गरेको सैन्य हताहतीको संख्या पेन्टागनको प्रक्षेपणभन्दा निकै कम देखिन्छ । बुधबार टेलिभिजनमा बोल्दै रुसी रक्षा–मन्त्री सर्गेई शोइगुले द्वन्द्व सुरु भएदेखि हालसम्म ५हजार९ सय ३७ रूसी सैनिक मारिएको बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धपछि पहिलोपटक रुसी रिजर्भ फोर्स परिचालन गर्न आदेश दिएकै दिन यो विवरण सार्वजनिक गरिएको थियो । युक्रेनमा कयौं पश्चिमी शक्ति विरुद्ध एकैपटक लड्नु परेकाले थप जनशक्ति आवश्यक परेको र त्यसैका लागि रिजर्भ फोर्स परिचालन गर्नुपरेको पुटिनले बताए । रक्षा मन्त्री शोइगुले रुससँग २ करोड ५० लाख सम्भावित लडाकू रहे पनि हाल ३ लाख पुरुष मात्र परिचालित हुने बताएका छन । रोयटर्सका अनुसार मस्कोले आफ्नो छिमेकीलाई निशस्त्रीकरण गर्न र खतरनाक राष्ट्रवादीहरुबाट मुक्त बनाउन ‘विशेष सैन्य अभियान’ चलाएको बताइरहेको छ ।