बेल्टार बजार ब्यबस्थापनका लागि सरोकारवालासङ बजार ब्यबस्थापन तथा बिकास समितिको छलफल ।

चौदण्डीगढी नगरपालिकाले नगरको कार्यहरुलाई सहजीकरण गर्न केहीदिन अघि बनाएको समन्वय समितिहरुले आफ्नो कामलाई अगाडी बढाएको छ । यसैक्रममा बजार ब्यबस्थापन तथा बिकास समितिले आज एक कार्यक्रमको आयोजना गर्दै नगरका सरोकारवालाहरुसंग छलफल गरेको छ । बेल्टार बजारस्थित बेल्टार बसहा उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा नगरको बेल्टार बजार, हडिया बजार, सिवाई बजार, शनिवारे बजार र बिरेन्द्र बजारको तत्कालिन र दिर्घकालिन बिकासको बारेमा छलफल गर्ने बताएका समितिका संयोजक बिकास बन्जराले आज मुख्यता बेल्टार बजारको बारेमा सरोकारवालाहरुसंग छलफल गरेका छन् ।

छलफलकाक्रममा बेल्टार बजारको बिकासका लागि नगरलाई जोड्न अन्तरपालिका र अन्तर जिल्ला सडक संजालको बिकास, बेल्टार बजारको मुख्य सडक र शाखा सडकहरुको मापदण्ड निर्धारण, वडा नम्बर ६ पुष्पलाल चौक स्थित दुर्घटनको कारण बन्न सक्ने प्रहरी विट र पुष्पलालको शालिकको उचित ब्यबस्थापन गर्नु पर्ने , तरकारी बजारको ब्यबस्थापन, मासु कटिङ्ग सेन्टरको संचालन लगायतको बिषयमा सरोकारवालाहरुले सुझाव दिएका थिए भने पुर्व नगर प्रमुख खगेन्द्र राईले आफ्नो कार्यकालमा बजार ब्यबस्थापनको लागि गरेको कामहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै पुर्व नगर प्रमुख राईले टोल बिकास समिति र वडा कार्यालयहरुमार्फत समितिले काम गर्दा प्रभावकारी हुनसक्ने समेत सुझाव पनि दिएका थिए ।